दाङ, ७ पुस । दाङको लमहीमा प्रहरीले बिलबिजक प्रक्रिया पुरा नगरी अवैध रूपमा ओसारपसार भइरहेको लाखौँ मूल्य बराबरको सामान नियन्त्रणमा लिएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका वडा नं. ९ स्थित ट्रक समितिको कार्यालय नजिकैबाट प्रहरीले ती सामग्रीहरू बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय अमिलिया, दाङबाट खटिएको प्रहरी टोलीले हिजो (पुस ६ गते) बिहान अन्दाजी ६ बजेको समयमा नियमित चेकजाँच गर्ने क्रममा राजस्व छली गरी ल्याइएका सामानहरू फेला पारेको थियो । बरामद गरिएका सामग्रीहरूको कुल बजार मूल्य रु. ३,३०,९९० (तीन लाख तीस हजार नौ सय नब्बे) रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सामानहरूमा विभिन्न सरसफाइका लिक्विड र लत्ताकपडाहरू रहेका छन्:
१) कार तथा मोटरसाइकल वास: ३०३ लिटर (रु. ९,०९०)
२) ह्याण्ड वास (Hand Wash): २३० लिटर (रु. १३,८००)
३) डिस वास (Dish Wash): १८० लिटर (रु. ९,०००)
४) कटनको तन्ना: ८३८ थान (रु. २,५१,४००)
५) सिरानीको कभर: ७९५ थान (रु. ४७,७००)
प्रहरीले सामान बरामद गरी आवश्यक कानूनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर, बाँके पठाएको जानकारी दिएको छ ।
पछिल्लो समय दाङ प्रहरीले सीमावर्ती क्षेत्र र राजमार्गमा हुने अवैध चोरी निकासी तथा राजस्व छलीका विरुद्ध निगरानी कडा पारेको छ ।

