घोराही असार २४ / दाङ्ग उपत्यकाको पूर्वी भेगमा घोराही शहर अवस्थित छ । यो शहर घोराही, घोराही बाट त्रिभुवननगर नगरपालिका र फेरी घोराही उपमहानगरपालिका नाम रहन पुगेको छ । यो शहर दाङ्ग जिल्लाको सदरमुकाम हो ।
घोराही शहर दाङ्गका प्राचिन धार्मिक स्थलहरू बराहा मन्दिर बाह्रकुनेदह, अम्बिकेश्वरी मन्दिर एवम् सिद्धरतननाथ मठ चौघेरा क्षेत्रको काखैमा अवस्थित छ ।
घोराही शहरको नाम कसरी घोराही रहन पुग्यो ? भनेर ऐतिहासिक दस्तावेज एवम् बुढापाका जानकारहरू सँग सोधखोज गर्दा यस्तो तथ्य फेलापर्यो ।
स्थानिय थारू भाषामा;
घोर = घोडा
राह = बाटो
राही = बाटोमा हिड्ने, यात्री
घोर + राही = घोराही (घोराहरू ओहर दोहर गरीराख्ने बाटो)
घोराही बजारको नाम कसरीरह्यो भनेर अध्ययन गर्दा बजार बस्नुभन्दा पहिले यस क्षेत्रमा दाङ्ग, सल्यान, रूकुम एवम् रोल्पा लगायतका क्षेत्रका धेरै यात्रुहरू यहि ठाउँभएर दाङ्ग उपत्यकाको पूर्व-दक्षिण हुँदै दाङ्ग उपत्यका बाहिर जाने आउने गर्दथे ।
यात्राका लागि गाडीको सुविधा नहुँदा सम्म यसठाउँ हुँदै धेरै पहिले देखिनै यात्रीहरू, घोडलद्दीहरू, घोडसवरीहरूको निकासीपैठारी वा अन्य कामका लागि ओहर दोहर भइरहन्थ्यो । यसरी नै यता उत्पादित खाद्यान्न जडीबुटी लगायतका सामानहरू घोडाहरू द्वारा दाङ्ग उपत्यका बाट बाहिर निकासी र यता आवश्यक पर्ने घरखर्चका लागि नुन, मट्टीतेल, कपडालत्ता, चिनी, मरमसला, ओखतीमूलो एवम् आवश्यक सरसामान उपत्यका भित्र पैठारी भइरहन्थ्यो ।
यसरी निकासीपैठारी हुँने क्रममा यस क्षेत्रमा रुकुम, सल्यान, रोल्पा एवम् दाङ्गका धेरै यात्रुहरू, घोडसवारहरू, घोरलद्दी घोडेहरूको बाहिर जाँदा र फर्कदा भेटघाटहुने स्थान परेकाले यहाँ घोडाहरूको जमघट बाख्लै भइनै रहने भयो । बाटो भरी यसरी घोडाहरू भैरहने भएकाले यस स्थानको नाम घोराही (घोरा+राही = घोराही) रहन पुग्यो ।
स्थानिय भाषामा घोर भनेको घोडा र राही भनेको बाटोमा हिड्ने बटुवा अर्थ भएका शब्हरू मिलेर समासहुँदा व्युत्पन्न भएको शब्द ‘घोराही’ यस स्थानको नाम रहन गएको बुझिन्छ । पछी यहाँ चहलपहल बढ्न थालेपछी सुस्त सुस्त विकास हुँदै हुँदै बनेको यो बजार पनि घोराही नामलेनै चिनियो । यही घोराही शहरमा दाङ्ग जिल्लाको सदरमुकाम छ । यो घोराही शहर फैलदै गएर हाल ‘घोराही उपमहानगरपालिका’ भएको छ ।
लेखक – रोशण शाहा

