घोराही फाल्गुन ८ । बाह्रौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० को मूल आयोजक समिति घोषणा गरिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा पत्रकार सम्मेलन गरी दुई सय ६३ सदस्यीय मूल आयोजक समिति घोषणा गरिएको हो । यही फागुन १८ गतेदेखि २१ गते सम्म हुन लागेको बाह्रौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सव-२०८० को तयारी तीब्र पारिएको छ ।
सबै राजनीतिक दलका जिल्ला प्रमुखहरु, सबै पालिकाका प्रमुख, उपप्रमुख, दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरु मूल आयोजक समितिको सल्लाहकार पदमा रहने अध्यक्ष जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार घोराही उपमहानगरपालिकाका सबै वडाध्यक्षहरु, जिल्लाका सबै उद्योग वाणिज्य संघका अध्यक्षहरु, जिल्लास्तरका सबै संघसंस्थाका प्रमुखहरु मूल आयोजक समितिका सदस्य रहनेछन् । विभिन्न सामाजिक व्यक्तिहरु पनि सदस्य हुनेछन् ।
‘गौरवको कुरा भइराख्या छ’– संघका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक जोशीले भन्नुभयो– ‘१२ देशका कला संस्कृति घर आँगनमै बसेर देख्न पाउनेछौं ।’ उहाँका अनुसार आर्थिक मन्दीको बेलामा अर्थतन्त्र चलायमान हुनेछ । पर्यटन व्यवसायमा टेवा पुग्नेछ । दाङलाई विश्वसामु परिचित गराउने अवसर आएको छ । घोराही–१५ को कृषि सामग्री कम्पनी लिमिटेडको खाली जमिनमा चार दिने कार्यक्रम चल्नेछ । आएका अतिथिहरुलाई दाङका पर्यटकीयस्थल अवलोकन गराइनेछ ।

सो अवसरमा नेपालसहित अष्टे«लिया, बेल्जियम, बोत्स्वाना, इस्टोनिया, जर्मन, भारत, इजराइल, मलेसिया, पेरु, पोल्याण्ड, दक्षिण अफ्रिका र दक्षिण कोरियाका कलाकार आउनुहुने भएको छ । एउटा देशबाट ३० देखि ४० जनाको दरले करिब दुई सय ७० बढी कलाकार विदेशी हुनेछन् । उनीहरुलाई घोराहीमा ल्याउन, स्वागत गर्न, व्यवस्थित बसाल्न र विदाइ गर्ने जिम्मेवारी रहेको वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठले बताउनुभयो । उहाँले नेपालको इज्जतको लागि विदेशीलाई सम्मान गर्नुछ । धार्मिक पर्यटकीय स्थल, बजार, सार्वजनिक स्थल सरसफाइ गर्न र सुन्दर ढंगले सजाउन आग्रह गर्नुभयो । उहाँका अनुसार उनीहरुलाई असल व्यवहार र कुनै जानकारी मागे नम्र भएर दिनुपर्नेछ । यस्तो महत्वपूर्ण महोत्सव देशभर काठमाडौं, पोखरा र दाङमा मात्रै हुनेछ ।
यसैगरी उद्घाटनका दिन १८ गते विभिन्न भेषभूषा सहितका झाँकी, जुलुस, शोभायात्रा गरिने संघले जनाएको छ । उद्घाटनको दिन निःशुल्क प्रवेश हुनेछ । भोलिपल्टदेखि एक सयको टिकट लाग्नेछ । विदेशीले नृत्य देखाउँदाको दिन २१ गते भने पाँच सय रुपैयाँको भिआइपी पासको व्यवस्था गरिएको छ । उनीहरुलाई बस्नको लागि कुर्सी राखिने सचिव विकास वलीले जानकारी दिनुभयो । अन्यलाई भुइँ र दरीमा बसालिने छ । ज्येष्ठ नागरिकलाई पूरै छुट र विद्यार्थी तथा अपांगता भएका व्यक्तिलाई ८० रुपैयाँ प्रवेश शुल्क लाग्नेछ ।
महोत्सव सञ्चालन गर्न लाग्ने खर्च उठाउने बाहेक थप कमाउने लक्ष्य नरहेको संघका सचिव विकास वलीले जानकारी दिनुभयो । उहाँका अनुसार यहीं उत्पादन हुने अल्लोका कपडा, खुकुरी, केराको अचार, थारुको ढिक्री, नेवारीको खाजा, स्थानीय अचार लगायत फूड फेस्टिवल हुनेछ । अरु मेला महोत्सव जस्तो पिङ, बाहिरका व्यापारी आएर स्टल लिने जस्ता कार्यक्रम नभएको वलीले बताउनुभयो । नेपालको मायाको चिनो लैजाने गरी विदेशीका लागि आकर्षक वस्तु राखिने छ । स्थानीय उत्पादनलाई प्रमोट गरिने संघका सदस्य एवं प्रचारप्रसार उपसमितिका संयोजक युवराज पोख्रेलले बताउनुभयो । कार्यक्रम समापन भएपछि विदेशीलाई पर्यटकीय क्षेत्र अवलोकन गराउने कार्यक्रम छ । उहाँका अनुसार पाण्डवेश्वरी, चौघेरा, बाह्रकुनेलगायतका पर्यटकीय क्षेत्रमा र समयले साथ दिएसम्म धेरै धार्मिक पर्यटकीयस्थलमा विदेशी कलाकारलाई अवलोकन गराई पर्यटन प्रबद्र्धन गरिनेछ ।


