दाङको घोराहीमा जारी लुम्विनि स्तरीय एक्सपो २०८० मा कृषि तथा स्थानीय उत्पादनका लागि भनेर छुट्याइएका मध्ये एक स्टलमा घोराही १४ निवासि स्थानिय उद्यमि रोजीना सुवेदिले आफैले उत्पादन गरेको अचार बिक्री गर्दै आउनुभएको छ । घरवाट आफै अचार वनाई विक्री गर्दै आएकि रोजिनाले आचार्य फुड सप्लायर्समार्फत सुरुको एक नम्वर स्टलवाट स्थानिय उत्पादनको वजारीकरण गर्ने उदेश्यले अचार ग्राहकलाई उपलब्ध गराउदै आउनु भएको छ । केही समययता अचार बनाएर बेच्न थाल्नुभएकी उहाँले बिक्रीबाट राम्रै आम्दानी हुने गरेको बताउनुभयो ।
अहिले उहाँको स्टलमा १७ प्रकारका अचार बिक्रीका लागि राखिएका छन् । बिक्रीका लागि एकजना सहयोगी राखेर आफै खटिनुभएको छ । यतिबेला उहाँ घरवाट अचार उत्पादन गर्दै स्टलमा ल्याएर व्यवसाय गरिरहनुभएको छ । घरवाट पनि ग्राहकको माग अनुसार अचार विक्री गर्दै आउनु भएकी सुवेदिले एक्सपोमा बढी आम्दानी हुने भएकोले यता आएको उहाँले बताउनुभयो । ‘एक्सपो राम्रो चल्यो भने त एउटै मेलाबाट राम्रो आम्दानी भएको छ । अवदेखी जिल्लामा लाग्ने सबैजसो मेला र छिमेकी जिल्लामा पनि पुगेर अचार बेच्ने योजना बनाएकी छु’– सुवेदिले थप्दै भन्नुभयो–‘घरमा बनाएको अचार भएकोले धेरैले रुचाउनुहुन्छ । विशुद्धरुपमा अग्र्यानिक चिजको प्रयोग गरेर बनाएको हुन्छु । त्यसैले धेरैले पछि पनि सम्पर्क गरेर माग्ने गर्नुहुन्छ ।’ कतिपयले विदेशमा पठाइदिनका लागि पनि अचार किन्ने गरेको उहाँले बताउनुभयो । एक्सपोमा पूर्वसांसद शान्ता चौधरीले उत्पादन गर्नुभएको अचार पनि बिक्री भइरहेको छ ।
उहाँ जिल्ला तथा छिमेकी जिल्लाका विभिन्न शहरमा मेला लाग्दा स्टल लिएर अचार बिक्री गर्न पुगिहाल्नुहुन्छ । केही समयदेखी अचार बनाएर बेच्न थाल्नुभएकी शान्ताले अचार बिक्रीबाट राम्रै आम्दानी हुने गरेको बताउनुभयो । एक्सपोमा कृषिका स्टलको लाइनमा स्थानीयस्तरमा उत्पादन गरिएका कृषि औजार र आधुनिक कृषि औजारका स्टल पनि छन् । एक्सपोमा सल्यानी खुकुरी तथा कृषि औजार उद्योग, सल्यानी खुकुरी एण्ड कृषि औजार निर्माण हस्तकला उद्योग र कृषि औजार तथा खुकुरी निर्माण उद्योगले स्थानीस्तरमा उत्पादन गरिएका खुकुरी, चुलेसी, खुँडा, हँसिया, कुटो, कोदालोलगायतका सामग्रीहरु बिक्रीका लागि राखीएका छन् भने आधुनिक कृषि औजार र अन्य सामग्रीहरु बिक्री भइरहेको छ । यी परम्परागत कृषि औजारहरु बिक्रीको अवस्था सन्तोषजनक रहेको अर्का स्टल सञ्चालक बताउनु भयो । एक्सपोमा विभिन्न कृषि वन उद्यमी समूहहरुले उत्पादन गरेका खाद्यवस्तु तथा सामग्रीहरु बिक्रीका लागि स्टल राखिएको छ । एक्सपो अवलोकनका लागि आउनेहरुमध्ये धेरैले स्थानिय उद्यमी समूहले उत्पादन गरेका बस्तुहरु रुचाएका छन् ।
त्यस्तै एक्सपोमा काँश, मुज र थाकलबाट उत्पादन गरेका ढकिया, झोला, फूलदानीलगायतका सामग्री, दुना टपरी र उद्यमी समूहले उत्पादन गरेका टिमुरको छोप, टिमुरको अचारलगायतका वस्तुहरु ग्राहकको रोजाइमा परेका छन् । एक्सपोमा पशुपालक किसानहरुका लागि पोषणयुक्त दाना उपलब्ध गराउने उद्देश्यले केहीले स्टल राखेर सेवा प्रवाह गर्दै आएको छ । एक्सपोमा विभिन्न कृषक समूहहरुले आफूले उत्पादन गरेका कृषि उत्पादन प्रदर्शनीमा राखेका छन् । एक्सपाृेमा जातीय पहिचानको खानापनि प्रदर्शनमा राखिएका छन् । ‘ग्राहकले योमरी, लाखामरी, बारा, चुकौनी र सेल रोटी बढी रुचाएका छन् । एक्सपोमा मूल आयोजक समितिका संयोजक तथा दाङ चेम्वर अफ कमर्शका अध्यक्ष विकास अग्रवालले कृषि र स्थानीय उत्पादनका स्टलहरुले एक्सपोमा राम्रो वजारीकरण पाईरहेको बताउनु भयो । आयोजकले त्यस्ता स्थानिय उत्पादनका स्टलहरुका लागि हदैसम्मको लचकता अपनाउँदै छुट दिएको पनि उहाँले बताउनु भयो ।।

