घाेराही, १७ फागुन । बिहिबार दिउँसो घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेश पाण्डेय आफ्नो कार्यकक्षमा बसिरहेका थिए । उनले कार्यालयमा आउने विभिन्न जनगुनासो तथा अन्य कार्य सम्पादन गरिरहेका थिए ।
त्यतिकैमा विद्यालय पोशाकमा सजिएका सानासाना बाबु नानीहरूको एक हुल वडा अध्यक्षको कार्यकक्षमा पुग्यो ।
अनि फेरियो त्यहाँको वातावरण । साना नानीबाबुहरुले प्रश्नको ओहिरो बर्साउन थाले। एकैछिन त वडा अध्यक्ष अलमल परे जस्तो गरे। तर, उनले बिस्तारै ती नानीबाबुहरूको सबै प्रश्नको सरल तरिकाले जवाफ दिए ।
घोराही उपमहानगरपालिकास्थित सभ्यता पाठशालामा अध्ययन गर्ने कक्षा ५ का विद्यार्थीहरू प्रयोगात्मक अभ्यासका लागि वडा अध्यक्षको कार्यकक्षमा पुगेका थिए । उपमहानगरपालिकाले तयार पारेको ‘हाम्रो उपमहानगरपालिका’ पाठ्यक्रमको अध्ययन गर्ने विद्यार्थीहरू आफ्ना दुई शिक्षकको साथमा वडा र कार्यालय पुगेका थिए।
शिक्षक भावना न्यौपाने र सुष्मा थापा विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यासका लागि लगेर वडा कार्यालय पुगेका थिए। सो क्रममा विद्यार्थीहरुले वडा अध्यक्षलाई वडा सरकारको काम कर्तव्य, वडाले शिक्षा तथा खेलकुदको क्षेत्रमा गरेको कामकाज, आगामी योजना लगायतका विषयमा प्रश्न गरेका थिए।
वडा अध्यक्ष पाण्डेले सबै प्रश्नको सरल ढंगले जवाफ दिएका थिए ।

