दाङ — पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङमा पुलबाट यात्रुवाहक बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ । राती १ बजेसम्मको विवरण अनुसार ५ जनाको उपचारका क्रममा मृत्यु भएको थियो भने ७ जनाको शव जेसिविको सहायताले बसबाट बाहिर निकालिएको छ ।
मृतकको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक उज्ज्वलबहादुर सिंहले बताए । नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती पुलबाट नदीमा खसेको थियो ।
भालुबाङको ट्राफिक बिट पार गरेको केहीबेरमा बस पुलको दायाँतर्फबाट पुलको रेलिङ भत्काएर नदीमा खसेको थियो । घटना के, कसरी भयो भन्नेबारे थाहा हुन नसकेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी जनकबहादुर मल्लले बताए ।
चालक प्रहरी नियन्त्रणमा रहेको उनले जानकारी दिए । घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीसहित ३५ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुबाङका प्रमुख एस्पी गोपालप्रसाद श्रेष्ठसहित ४५ सशस्त्र प्रहरी र जिल्ला ट्राफिक प्रहरी प्रमुख किरणप्रकाश मल्लसहित ६ जना ट्राफिक प्रहरी उद्धारमा खटेकोमल्लले बताए । २३ घाइतेहरूको प्रस्तावित भालुबाङ अस्पतालमा उपचार भइरहेको उनले बताए ।



