दाङ –
साथै रक्षाचौर, रजौरा, मोतिपुर, नयाँगाउँ, गौरीगाउँ, दुधेना लगाएतका गाउँ ठाउँका नामहरू कसरी रहे …)
दाङ्ग उपत्यकाको पूर्वपश्चिम र उत्तरदक्षिणको विचोविच भागमा सुनियोजित तरीकाले सबैलाई पाएक पर्ने स्थानमा मानपुर बजार बसायिएको थियो । क्रमशः मानपुर बजार पनि गुलजार भईरहेको थियो ।
श्री ५ महेन्द्र राजाले राज्य सञ्चालनका लागि पुष १२,२०१७ मा ‘पञ्चायती व्यवस्था’ लागु गरे । यो नेपालको मौलिक व्यवस्थामा गाउँ गाउँहरूको पञ्चायतमा, पञ्चायत पञ्चायतहरूको जिल्लामा, जिल्ला जिल्लाहरूको अञ्चलमा, अञ्चल अञ्चलहरूको क्षेत्रमा, क्षेत्रहरूको राजधानीमा सुनुवाइ वा कार्य विभाजन सम्पादनगर्न सजिलो हवस भन्ने ध्येयले यसरी विभिन्न तहका निकायहरू बनायिएको थियो । दाङ्ग जील्लाको जिल्ला सदरमुकाम घोराही भए जस्तै रापती अञ्चलका सबै जिल्लाहरूलाई पाएक पर्ने दाङ्ग उपत्यकामा अञ्चल सदरमुकाम राख्नुपर्ने भयो ।
रापती अञ्चलको नाम पहिले ‘स्वर्गद्वारी अञ्चल’ राख्ने कुराउठे पनि पछि ‘रापती अञ्चल’ नामाकरण गरीयो ।
रापती अञ्चलको सदरमुकाम राख्न दाङ्गको पुरानो बजार मानपुरमा भवन आवासको खोजी भैरहेकै क्रममा, सल्यानी राजाले अञ्चल कार्यालय राख्न आफ्नो हालको तुलसीपुर बजारको नामिनगरमा अवस्थित दरबार राज्यलाई अञ्चल कार्यालय राख्न उपलब्ध गराएकाले रापती अञ्चल कार्यालय मानपुरमा नबसेर तुलसीपुर क्षेत्रमा रहेको उक्त दरबारमा बसेको हो ।
सल्यानी राजाको जाडो महिनामा राजकाज चलाउने यो दरबार वि.सं १९८८ सालमा निर्माण सम्पन्न भएको हो । यसै दरबारका कारण तुलसीपुरमा अञ्चल सदरमुकाम बस्न आएको हो । अञ्चल सदरमुकाम यहाँ नआएको भए आज तुलसीपुर बजार क्षेत्र यस्तो सुन्दर बजारमा गुलजार हुने पनि थिएन कि…?
सायद नहुन पनि सक्दथ्यो ।
अत: तुलसीपुरको इतिहासको सम्बन्धमा लेख्दा यस दरबार बनाउने
शल्यानी राजाको राजवंशवृक्षको पनि उल्लेख गरेमा यहाँको इतिहास बुझ्न अँझै सजिलो हुने ठानेको छु । यस वंशावलीका सहयोगले यहाँको इतिहास बुझ्न मद्दत त मिल्दछनै साथै यस क्षेत्रका केही गाउँहरूका नामहरू पनि कसरी रहे भन्ने रोचक तथ्यहरू पनि अवगत हुनेछन् ।
(१)
श्री कनक शाहा
वि.सं. १५४५-१६३५ – ९० बर्ष राज्य गरे ।
(वि.सं. १६३४ सालमा आचार्ज ब्राह्मणलाई ‘साईला कम्द’ लगाएतका गाऊँहरू विर्ता दिएका थिए ।)
(२)
श्री अग्नि सङ्ग्राम शाहा
वि.सं. १६३५-१६९० – ५५ बर्ष राज्य गरे ।
(३)
श्री प्रताप शाहा
वि.सं. १६९०-१७३५ – ४५ बर्ष राज्य गरे ।
(४)
श्री तुलाराम शाहा
वि.सं. १७३५-१७४५ – १० बर्ष राज्य गरे ।
(५)
श्री पृथ्वीपति शाहा
वि.सं. १७४५-१७६१ – १०६ बर्ष राज्य गरे ।
(६)
श्री कालु शाहा
वि.सं. १७६१-१७६८ – ७ बर्ष राज्य गरे ।
(७)
श्री दलु शाहा
वि.सं. १७६८-१७७३ – ८ बर्ष राज्य गरे ।
(८)
श्री मान्धाता शाहा
वि.सं. १७७६-१७८५ – ९ बर्ष राज्य गरे ।
(९)
श्री सङ्ग्राम शाहा
वि.सं. १७८५-१७९३ – ८ बर्ष राज्य गरे ।
(भारद्वाज गोत्रीय देवकोटा थरका वैद्यले राम्रो उपचार गरेर जीवन रक्षागरेकाले वैद्यलाई ‘रजौर्या’ पदवी प्रदान गरी विर्तामा धेरै गाउँहरू दिएका थिए । जीवन रक्षाको प्रतिकमा दिएको ठाउँको नयाँ नाम ‘रक्षाचौर’ गाउँ रहन गयो र पदवी ‘रजौर्या’ को प्रतिकमा दिएको क्षेत्रको नाम ‘रजौरा’ र विर्ता पाउने देवकोटा वैद्यको थर देवकोटा बाट ‘रजौर्या’ हुँदै हाल रजौरे हुन गएको छ । यि ‘रक्षाचौर’ र ‘रजौरा’ नामका गाउँहरू अहिलेको तुलसीपुर उपमहानगरपालीका भित्रै पर्दछन् ।)
( १०)
श्री कृष्ण शाहा
वि.सं. १७९३-१८५० – ५७ बर्ष राज्य गरे ।
(श्री कृष्ण शाहा अत्यन्त प्रतापी राजा थिय । महाराजा श्री कृष्ण शाहा सँग गोरखा नरेश पृथ्वीनारायण शाहको मित्रवत् सम्बन्ध भएको र यसलाई दिगो बनाउन पृथ्वीनारायण शाहले आफ्नी राजकुमारी विलाश कुमारी शाहको विवाह श्रीकृष्ण शाहाका पुत्र राजकुमार श्री रणभिम शाहासँग गराई पारिवारिक सम्बन्ध कायम गरेका थिए ।
यिनको वि.सं. १८५७ सालमा स्वर्गारोहण भएको थियो ।)
(११)
श्री रणभिम शाहा
वि.सं. १८५०-१८७४ – २४ बर्ष राज्य गरे ।
(गृष्मकालीन राजधानी शल्यान खलङ्गा बाट राजधनी फलावाङ्गको सरदकालीन पुरानो दरवारमा वि.सं. १८५४ मा सँधैलाई राजधानी सारे ।
नेपालको सिमाना पश्चिममा काँगडाको किल्ला सम्म पुर्याउनमा महाराजा श्री रणभिम शाहा र यिनकी रानी विलास कुमारी शाहाको ठूलो योगदान छ ।
नेपाल एकिकरण गर्ने सपना पूरा नभएरै श्री ५ बडामहाराज धिराज पृथ्वी नारायण शाहको मृत्यू भयो । मृत्यू पछि राजा भएका राजाप्रतापसिंह शाह पनि तिनवर्ष मात्र राज्यगरी २६ वर्षको अल्पआयुमै मृत्यू हुनगयो । तेसपछि बडामहाराजको राष्ट्र एकिकरणको अधुरो चाहनालाई पूरागर्न नाबालक राजा वा राजमाता राजेन्द्रलक्ष्मी बाट कठिन देखि बडामहाराज पृथ्वी नारायणकी छोरी सल्यानी महारानी विलास कुमारी शाहाको मन अत्तालिन थाल्यो । सौतेनी आमा तिरका काका दलजित र राजा प्रतापसिंहले बहादुर शाहको राज्यकोशासन प्रशासनमा मजबुत पकड देखि आफ्नो हालीमुहाली नचल्ने ठानी कोपमा पार्न खजेका थिए तर बहादुर शाह आफन्तहरू रराजगुरूको अनुनयविनयबाट बल्लतल्ल उम्कनसफल भए तर चेपेनदी पारी निकालामा परे । पछि पाल्पाहुँदै वेतिया कलकत्ता तिरै निर्वासनमा बस्न थालेका थिए ।
सल्यानी महारानी विलास कुमारीले भाइ बहादुर शाहलाई नबोलाई अब राज्य विस्तार नहुने र राज्य विस्तार नभएमा बुवा पृथ्वीनाराण शाहको राष्ट्र निर्माणको सपना अधुरै रहने लक्षण देखेर विलास कुमारी शाहले बुवाको सपना पूरागर्न बुहारी राजेन्द्रलक्ष्मी मार्फत पटक पटक भाइ बहादुर शाहलाई बोलाउन लगाईन । यसरी भाउजुले पटक पटक बोलाउँदा पनि बहादुर शाह फर्कियर आएनन् । नआए पछि विलास कुमारी शाहा आफैले भाइ तिमी जसरी हुन्छ बुवाको सपना पूरागर्न राज्य एकिकरणका लागि अविलम्ब नेपाल फर्कीआऊ यहाँ तिमीलाई केही हुनेछैन । तिम्रो अनुकुल वातावरणको सम्पूर्ण व्यवस्था हामी गरौँला भनि चिठ्ठी लेखी लिन नाथयोगीलाई लिन पठाए पछि, बहादुर शाह दिज्यूको भरोसामा नेपाल फर्किए आएको र जसो तसो अवरोधका बावजुद काठमाण्डौ छिरीपुनः चौतरिया र नायवीको पदलिई बहादुर शाह पश्चिम तिर नेपाल राज्य एकिकरण गर्दै जाँदा नेपालको सिमाना काँगडा सम्म पुग्यो।
यहि समयमा ‘सल्यानी खुकुरी’ नेपाली सेनाले प्रयोग गरेकाले यहाँको खुकुरीले पनि नेपालभर ‘सल्यानी खुकुरी’ भनेर खुबै प्रसिध्दि पायो ।)
(१२)
श्री रधुनाथ शाहा
वि.सं. १८५६ मा अल्प आयुमै स्वर्गारोहण भयो ।
(१३)
श्री तेज बहादुर शाहा
वि.सं. १८७४-१९०५ – ३१ बर्ष बर्ष राज्य गरे ।
(यिनका दुई राजकुमारहरू १) श्री नरेन्द्र बहादुर शाहा २) श्री लक्ष्मीनारयण शाहा दुबै शल्यानका राजा भए ।
फलावाङ्गमा रहेको दरवार धेरै पुरानो भैसकेकाले तेही स्थानमै नेपाली शैलीको दरवार बनाए यस दरवारलाई पुनःनिर्माण भए पनि पुरानो दरवार नै भनिन्थ्यो ।)
(१४)
श्री नरेन्द्र बहादुर शाहा
वि.सं. १९०५-१९१३-८ बर्ष राज्य गरे ।
दाङ्ग उपत्यकाको केन्द्रमा मानपुर बजार बसाए ।
(यी निसन्तान रहे । यिनले धिर सम्शेर राणाकी दुई छोरी तोरण दिव्यश्वरी र गोत्र दिव्यश्वरीदेवी नामका दुईवटी छोरीहरू विवाह गरेका थिए।)
(१५)
महारानी गोत्र दिव्यश्वरीदेवी शाहा
वि.सं. १९१३-१९२३-१० बर्ष राज्य सञ्चालन गरे ।
(रानीहरू सहितको टोली विशेष पर्वमा स्नानका लागी बबै नदी कीनारमा खेमापाल तरी बसेका बखत किसनाले खग्दा (ओसीलो दलदल) खेतको मसिनो सेतो दानाको चामल रानीलाई कोसेली दिँदा रानीले, ‘कुन गाउँको चामलहो ?’ भन्दा किसानले, ‘खग्दा’ को चामलहो । गाउँको नाम छैन तल्लो खग्दा भन्छन …’ भनेछन् । महारानी तोरण दिव्यश्वरीले, ‘यस्तो उज्यालो मोतिको दाना जस्तो चामल उब्जने ठाउँको नाम अबदेखि ‘मोतीपुर’ भन्नु !’ मर्जी भएछ । तेसपछी उक्तठाउँको नाम नै ‘मोतीपुर’ रहेछ । हाल यो मोतीपुर गाउँ तुलसीपुरको ११ नं. वाडामा पर्दछ ।)
(१६)
श्री शेर बहादुर शाहा
वि.सं. १९१३-१९२३-१० बर्ष राज्य सञ्चालन गरे ।
(राजा नरेन्द्र बहादुर शाहाका शेष पछि रानी गोत्र दिव्यश्वरीदेवीले १० वर्ष राज्य सञ्चालन गरे पछी, उनका सन्तती नभएकाले सहोदर देवर श्री लक्ष्मीनारयण शाहाका कान्छा छोरा शेर बहादुर शाहालाई राजा बनाए । [शेरबहादुर शाहाले मुखिया जर्नेल जगत जङ्ग राणा र श्री५ पृथ्वी वीर विक्रम शाहदेवकी राजकुमारी टीका राज्य लक्ष्मी शाह तर्फकी छोरी बसुन्धरा राज्यलक्ष्मी राणालाई विवाहा गरेका थिय। राजा नरेन्द्र बहादुर शाहाको शेष पछी रानी गोत्र दिव्यश्वरीदेवी शाहाले राज्य देवर श्री लक्ष्मीनारयण शाहालाई नदिई निजदेवरका कान्छा छोरा शेरबहादुर शाहाले आफ्नो ठूलो बुबा श्री ३ जङ्ग बहादुर राणाका छोरा, आफ्ना भाइ पर्ने मुखिया जर्नेल जगत्जङ्ग राणाकी छोरी विवाह गरेकाले राजा शेरबहादुर शाहा लाई राजा बनाई दिईन् । यसरी बुवा र दाजु भन्दा पहिलै शेरबहादुर शाहा राजा हुनपुगे ।]
तुलसीपुरको सल्यानी दरबार बनाउनमा यिनको पनि महत्वपूर्ण भुमिका थियो । यिनी विद्वान साहित्य अनुरागी थिए । यिनी संस्कृत, बङ्फागाली, फारसी, हिन्दी एवम् अङ्ग्रेजी भाषा पनि उत्तिकै दखल राख्दथे ।
फलाबाङ्गको माझदरबारमा विभिन्न खालका नृत्य, गायन, नाटकहरूको आयोजना गराइराख्दथे । विभिन्न ठाउँ बाट लाखे नाच फलावाङ्गमा जम्मा गराएर स्पर्धा पनि गराउने चलन चलाएका थिए ।
यिनले शरदकालीन तुलसीपुर दरबार नजिक पाठशालाका लागी झिँगटी लगाएका भवनहरू बनाएर पठनपाठन व्यवस्थित गराएका थिए । यस पाठशालामा दुध पुर्याउने काममा सघाउने किसानलाई जग्गा विर्ता दिएका थिए । किसानले दुध दिए बाफत पाएको उक्तठाउँको नाम नै दुध को सट्टामा मिलेकाले ‘दुधेना’ गाउँ रहनगयो ।
यसै गरी द्रुत गतिमा फलावाङ्ग काठमाण्डौ ओहर दोहरगर्ने वली थरका कारीन्दालाई राजा शेरबहादुर शाहले वलीले काठमाडौं फलावाङ्ग गर्ने नयाँ रेकर्ड कायम गर्यो भनि खुशीयालीमा जग्गा विर्ता दिए । वलीले विर्तामा पाएको उक्त ठाउँलाई ‘नयाँ गाउँ’ भनियो ।
दुधेना गाउँ र नयाँ गाउँ हालको तुलसीपुर उपहामानगर पालीका भित्रै पर्दछन् ।)
(१७)
श्री लक्ष्मी नारायण शाह
वि.सं. १९४३-१९५३-१० बर्ष राज्य गरे ।
(वि.सं.१९४२ भएको ४२ साल पर्वमा श्री ३ महाराज रणोद्दीप सिंहले मुखिया जर्नेल जगत जङ्गको हत्या पछी केन्द्रिय सत्ता परिवर्तनभयो । तेसपछि जगत जङ्गको छोरी जवाइँ शेरवहादुर शाहालाई पनि राजाबाट विस्थापन गरी शेर बहादुर शाहाकै बुवा श्री लक्ष्मीनारायण शाहालाई राजा बनाईयो । श्री लक्ष्मी नारायण शाहाका शेष पछि जेठा राजकुमार शमशेर बहादुर शाहा राजा भएका थिए ।यसरी लक्ष्मी नारायणका दुबै छोरा कान्छा शेर बहादुर र जेठा शमशेर बहादुर दुबै छोरा सल्यानी राजा भएका थिए ।)
(१८)
श्री शम्शेर बहादुर शाहा
वि.सं. १९५३-१९९५-४२ बर्ष राज्य गरे ।
(न्याय निसाफमा देशभरी नै प्रतीष्ठीत रहे । दाङ्गमा सिञ्चाईका लागि धेरै गाउँहरूका कुलानाला बनाउन राम्रो योजना सहित कुलाहरू सञ्चालन गराउने कार्यगरे । फलाबाङ्ग पुतली दरबार र तुलसीपुरको दरबार भाइ शेरबहादुर शाहा सँग मिलेरै बनाए ।
विजौरीमा यात्रुहरूको बिसौनाका लागि बगिया लगाए । तुलसीपुर दरबार छेउमा स्थापना गरायको श्री ३ जुद्ध शम्शेरको शालिक अँझै छँदै छ ।)
(१९)
श्री गेहेन्द्र बहादुर शाहा
वि.सं. १९९५-२०२५-३० बर्ष राज्य गरे ।
(वि.सं. २००७ साल पछी फलावाङ्ग र तुलसीपुरको दरवार छाडी काठमाण्डौ डिल्लिबजार स्थित ‘सल्यान हाउस’मा बस्नथाले । यिनले श्री ३ जुद्ध शम्शेर की छोरी विवाहा गरेका थिय ।
यिनका ठाइला छोरा श्री सुरेन्द्र बहादुर शाहा नेपाली सेनाका आर्मी चिफ एवम् फिल्डमार्शल पनि भए ।)
(२०)
श्री जीतेन्द्र बहादुर शाहा
वि.सं. २०१८-२०४६-२८ बर्ष राजा भए ।
(अत्यन्त विद्वान थिए । यिनी असिस्टेन्ट शिक्षा डाइरेक्टर, भएर नेपालमा शिक्षाको श्रीवृद्धी गर्नमा राम्रो योगदान दिए । काउन्सलर पनि भए इजरायलका प्रथम राजदुत भए । उनले ‘आधुनिक आविष्कार’ नामक पुस्तक पनि लेखेका छन् । )
(२१)
श्री गोपेन्द्र बहादुर शाहा (२०४६-२०५५) ९ बर्ष राजा भएर २०५५ पौष १७ गते स्वर्गारोहण भयो ।
(राजदरवार मा सचिव एवम् छायाँचित्रकार थिए ।)
फलावाङ्गमा सल्यानी राजाका ‘पुरानो दरवार’ ‘माझ दरबार’ र ‘पुतली दरवार’ नामका दरवारहरू थिए । फलावाङ्गमा गृष्म महिनामा बस्ने र जाडो महिनाहरूमा दाङ्गको दरबारबाट राजकाज चल्दथ्यो । सल्यानी राजा श्री शम्शेर बहादुर शाहा र श्री शेर बहादुरशाहाले वि.सं १९८८ सालमा जाडोमा महिनाहरूमा बस्नका लागी दाङ्गको नामीनगर पातुखोलाको किनारमा सुन्दर ‘दरवार’ र अन्य आवासहरू बनाएका थिए । दरबार परिसरमा मठमन्दिर लगाएत सुन्दर बगैँचा पनि निर्माण गराएका थिए ।
यहि दरबारमा पछी अञ्चलाधिश कार्यालय बसेको हो । अञ्चलाधिश कार्यालय यहाँ बसेपछी सरकारी काममा यहा मान्छेहरूको आउजाउ बढ्न थाल्यो । यसरी मान्छेहरूको आउजाउ बढेकाले होटेल पसलहरू खुल्न थाले । बजारको आवश्यकता खड्किएकाले क्रमशः बारजार बस्न थाल्यो ।
व्यवस्थित बजारको आवश्यकता खड्किएकाले शहर बसाउन अञ्चलाधिश चन्द्रमान थकालीका पालामा नगर विकास समिति गठन भयो । यसै समिति मार्फत तुलसीपुर गाउँ सहीत केही अरूभाग समेटेर बजार क्षेत्रको नक्शाअङ्कन भयो । यो नक्शाङ्कन भएको शहरको नाम ‘तुलसीपुर’ राखियो । नक्शाङ्कनमा यहाँका केहि जमिनदारहरू लगाएत श्री रतननाथ मन्दिरको गुठीको जग्गा समेटिएको हो । पछी बजार विस्तार हुँदा श्री सोभाभगवती मन्दिरको भोगचलनमा रहेका गुठीका जग्गाहरूमा पनि बजार विस्तार भयो । यसरी तुलसीपुर शहरको बजार विस्तारीत भयो । हाल यहाँको बसपार्क पातुखोलाको तिरमा वेवस्थित गरीएको छ र शहर चारै तिर फैलदै गएको छ । क्रमशः तुलसीपुर नामको शहर गुलजार हुँदै गएकोछ ।
‘तुलसीपुर’ नाम कसरी रह्यो ?
हालको तुलसीपुर बजार क्षेत्रको नाम कसरी तुलसीपुर रहनगयो भन्ने कुरामा पुराना कागजातहरू, यस क्षेत्रका ऐतिहासिक दस्तावेजहरू अध्ययन गर्दा, वुढापाकाहरूका जनश्रुतिहरू सुन्दा तुलसीपुर नाम यसरी रहन गएको देखिन्छ ।
१) तुलसीपुर (देवीपाटन) बाट फर्की आएकाहरू बसेकाले
दाङ्ग राज्य नेपालमा एकीकरण भैसकेपछी दाङ्गका राजा श्री नवल सिंहका छोरा श्री दिलेर सिंह दाङ्ग छाडेर तुलसीपुर (देवीपाटन) क्षेत्रको मात्र राजा बनेर बसे । दाङ्ग छिल्ली नेपालमा एकीकरण पछी नेपाल नरेशले यो क्षेत्र सल्यान राज्यलाई जिम्मा लगाइएका थिए । सल्यानले दिलेर सिंहको सबैक्षेत्रमा आफ्नो दावि गरेरकाले सल्यानी र तुलसीपुरे राजा विचमा उक्त देवीपाटन तुलसीपुर क्षेत्रका लागि पनि केहि समय बाझाबझ भएको थियो तर पनि तुलसीपुर राज्य काएमनै थियो । राजा दिलेर सिंहका पछी यिनका छोरा श्री दानबहादुर सिंह राजा भए । यसै विच चर्खा, इकौना प्रयागपुर, बलरामपुर, गोण्डा लगाएतका राजाहरू मिली तुलसीपुर (देवीपाटन) राज्यमा आक्रमण गर्दा राजा दानबहादुर सिंह तुलसीपुर (देवीपाटन) बाट शिवराजको परशुरामपुर गाउँमा आएर बसे । उनको राज्य फर्काउने पहलमा सल्यानको सहयोगमा ‘चन्द्रमणी रज्यौरीया’ लाई अवध नवाव कहाँ दुत बनाएर पठाए र अवध नवावको मध्यस्थतामा पुन: दानबहादुर सिंह तुलसीपुरको राजा बने यिनी पछी श्री दिर्धनारायण सिंह राजा भए । दिर्धनारायण सिंह पछी श्री दिपनारायण सिंह तुलसीपुरको राजा भए । यो समयमा अंग्रेजहरूको प्रभाव चरैतिर बढ्दै गएकाले यो प्रभाव रोक्न वि.सं १९०४ मा अंग्रेजहरूको विरोधमा तेहाँ विद्रोह सुरु भयो । यो विद्रोहका लागि तुलसीपुर राज्यका रानी श्री ऐश्वर्यश्वरीले हातहतियार र राशनले सहयोग गरीन । अङ्गेजहरूले उक्तविद्रोह दमन पछी त्यो विद्रोहमा सहयोग गरेको निहुँ पारी तुलसीपुरका राजा श्री दिपनारायण सिंह र रानी श्री ऐश्वर्यश्वरी सिंहलाई फैजावादमा नजर बन्द गरी तुलसीपुरको राज्य बलरामपुरका अधिनमा सुम्प्यो । यसरी तुलसीपुर राज्य टुटे पछी तुलसीपुरे राजा बाट विर्तापाई तुलसीपुर राज्यमा बसेका दाङ्गका धेरै जमीनदार सपरिवारहरू नेपाल तिरै फर्किए ।
यसरी फर्कनेहरूमा, केही परिवारहरू दाङ्गमा पनि फर्किआए । दाङ्गमा फर्किने परिवारहरूलाई सल्यानी राजाले सुरुमा आफ्नो दरवार नजीकै पूर्व तर्फ हालको आदर्शनगर टोल रहेको स्थानमा आश्रय दिएर वसाले । यि फर्कियर आएकाहरूलाई यहाँका बासिन्दाहरूले तुल्सीपुरे भन्नथाले र उनिहरूले पहिलोपटक आश्रय लिएको हाल तुलसीपुर आदर्शनगर टोल रहेको गाउँ क्षेत्रलाई तुलसीपुरेहरु बसेकाले ‘तुलसीपुर’ भन्न थालियो र यसरी यो ठाउँको नाम नै कालान्तरमा ‘तुलसीपुर’ नै रहन गयको हो ।
२) सल्यानी राजा श्री तुलाराम शाहा
सल्यानी राजा श्री कनक शाहाका नाति एवम् श्री अग्नि सङ्ग्राम शाहाका राजकुमार श्री तुलाराम शाहा (वि.सं. १७३५-१७४५) सल्यानबाट हिउँदमासमा दाङ्गमा झर्दा हुस्सु नलाग्ने विहान सबेरै घामलाग्ने, दाङ्ग उपत्यकाका धेरै भूभाग देखिने पातुखोला किनारको रमनिय स्थान भएकाले जाडोमहिना भरी बस्नका लागि उनले मनपरायर छानेको स्थान भएकाले यस ठाउँको नाम उनकै नाम तुलाराम बाट तुलारामपुर हुँदै अपभ्रंश भएर तुलसीपुर रहन गएको हो भनेर पनि केहीले भनेका छन् ।
३) तुलसी विरुवाका मठहरू भएकाले
केही लेखकहरूले सोही स्थान तुलसीपुर (देवीपाटन) बाट आएकाहरू बसाएक स्थानमा तुलसीका ठूला ठूला मठहरू भएकाले उक्त स्थानको नाम तुलसीपुर रहेको हो । भनेर पनि भनेका छन् ।
४) सल्यानी रानी का नामबाट
राजा शमशेरबहादुर शाहकी बज्यै आमा वा रानीको नाम तुलसी वा तुलसा भन्ने थियो । हाल यस नगर पालिकाको वडा नं. ५(हालबंगुरलाईन क्षेत्र) मा बस्ने थारुहरुले आफु बस्ने गरेको टोललाई पुर्वा भन्ने गरेका थिए । यो पुर्वा भन्ने ठाउँ र फलावाङ्गी राजाको ‘झिँगटीका दरबार’ सँग बिल्कुल सटेको ठाँउमा थियो । यसै थारु बस्तीको नगिचै आफनो दरबार भएकाले आफना तर्फकी नारी पात्रकोनाम यहाँको समाजले चिरकालसम्म संमरण गरी राखोस भन्ने आशयले फलावाङ्गी (सल्यानी) राजा शमशेरबहादुर शाहले यस ठाँउकोनाम ‘तुलसीपुर’ राखेको हुन् भनेर पनि नगरपालीकाले तुलसीपुरको परीचयमा लेखीएको देखिन्छ ।
तुलसीपुर ग्राम पञ्चायत, तुलसीपुर पञ्चायत, तुलसीपुर नगरपालिका हुँदै हाल तुलसीपुर उपमहानगरपालीका नाम ले प्रख्यात भएको छ ।
यसरी गुलजार भएको तुलसीपुर बजारको आधार, जस्का कारणले अञ्चालाधिश कार्यालय यहाँ आयो र यहाँ अहिले यो सुन्दर बजारविस्तार हुनपुग्यो । तेही दरबारलाई न तुलसीपुर नगरले न तुलसीपुरका हामी नगरबासीले नै जोगाइ राख्ने कुनै पनि पहल गरेनौँ । इतिहास नसहने हरूले त बम सम्मपट्काए क्षेत विक्षेत पारे, हामी नगरबासीहरू एवम् स्नथानीय सरकारले झन् बचेखुचेको तुलसीपुर बजारको ऐतिहासिक आधार स्तम्भ दरबारलाई जोगाउनुको साटो डोजर चलाएरै नामेट पार्यौँ ।
अब तुलसीपुरको आधार स्तम्भ यस दरबारको पुन: स्थापनका लागि हामी सबै तुलसीपुर नगरका नगरबासीहरूले सतत् प्रयास गर्यौँ भने यो हाम्रो नगरको संमृद्ध इतिहासलाई जोगाउन सचेत नागरीकका तर्फबाट भएको प्रयास मात्र नभएर ऐतिहासिक भुलचुकको प्रायश्चित्त पनि हुनेथियो ।
‘विगतको इतिहास, मूल र संस्कृतिको ज्ञान नभएको समाज जरा नभएको रूख जस्तै हो!’ भन्ने विद्वानको यो भनाई सँगै बिटमार्दछु धन्यवाद ।
[A society without the knowledge of their past history, origin and culture is like a tree without roots!]

