तीज हिन्दू नारीको महान चाड हो । हिन्दू नारीहरुले यस चाडलाई महत्वपूर्ण पर्वको रुपमा मान्ने गर्छन् । दाङमा पनि तीजको रौनक छुट्टै छ । अहिले देश भर तीजमय माहोल बनिसकेको छ। हिजो आज हाम्रो वातावरण तीजमय बनेको छ। रातो सारीमा सजिएका महिलाहरु विभिन्न समूह समाज, आफन्त, साथीभाई, दिदी वहिनी, पेशागत संघ संस्था, संगठनहरुमा जम्मा भई तीज मनाउनमा व्यस्त छन। यो पर्वको सामाजिक, धार्मिक , पौराणिक, सांस्कृतिक महत्व हुनुको साथै विशेषत महिलाहरुको मात्र चाड भएकोले पनि यस्को विशेष स्थान र महत्व छ।

तीजको परम्परा र मान्यताका बारेमा हिन्दूशास्त्र र पुराणहरूमा विभिन्न किसिमका कथा, वर्णन र चर्चा गरिएका छन् । हिन्दूशास्त्रमा बताइए अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भइ उनले महादेव पति पाएको दिनलाई उत्सव मानेर तीज पर्वको शुरूआत भएको भन्ने मुख्य मान्यता रहेको छ । 

यही मिथकलाई आधार र विश्वास गर्दै महिलाहरू साउनको शुरूआतसँगै हरियो रङ्गका चुरा, मेहन्दी र पहिरन लगाउँछन् । हरियो रङ्ग वर्षायामको हरियालीको प्रतीक पनि हो । हरियो रङ्गले उर्वरता, समृद्धि र नयाँ शुरूआतको प्रतिनिधित्व पनि गर्दछ । अहिले यो पर्व पौराणिक मान्यता र परम्परालाई मात्र आधार नमानी नारी शक्ति, समानता र अधिकार अनि प्रकृतिसँग पनि जोडिएको देखिन्छ । 

हिन्दूधर्म परम्परामा तीज एउटा महिलाको विशेष पर्वका रूपमा मानिँदै आएको थियो । समय, काल र युग परिवर्तन हुँदै जाँदा मान्यता, परम्परा, संस्कृति, प्रचलन पनि केही परिवर्तन हुँदै गएका देखिन्छन् । घरको कामले हैरान परेका, माइत जान नपाएका चेलीहरु तीजको निहुँले भए पनि माइत जान्छन् र आफ्ना पुराना साथीसँग भेटघाट गर्ने, दर खाने र अर्को दिन भगवान शिवको आराधना गर्नुका साथै आफूमा भएका वेदना मेटाउने खालका गीत गाउने, नाचगान मनोरञ्जन गरेर भव्य तरिकाले तीज मनाउने परम्परा रहिआएको छ । पहिले–पहिले तीजमा दुःख वेदनालाई लिएर सासु बुहारीको बारेमा दुःखका गीत गाउने परम्परा थियो ।

 बढ्दो आधुनिकता सँगै बढी रहेको अश्लिलताले तीजको परिभाषा नै परिवर्तित गरेको छ । अहिले हाम्रो बजारमा थुप्रै अश्लिलता फैलिने तीज गीतहरु सुन्न सुन्नमा पाइन्छन् । म्परागत र शालिनतापूर्वक पारस्पारिक सद्भाव फैलिने गरी मनाइनुपर्ने यस्ता पर्वहरु देखासिकी र छाडा चरित्रले मनाउन थालिएको छ । सुन्दा असामान्य लागे पनि सत्य यही नै हो । पहिलेका तीजमा पुराना तथा मौलिकता एवम् पीडादायी मर्मस्पर्शी गीतका भाषा सुनिन्थे । चेलीमाथि हुने अन्याय, अत्याचार, विकृति, विसङ्गती, हेला, विभेदपूर्ण व्यवहारलाई गीत मार्फत माइतीसामु पीडा पोख्ने गर्थे तर आजकाल विरहका गीत कम अश्लिल गीत धेरै सुन्न पाइन्छ ।

अझ कुनै–कुनै गीत त परिवारका बीचमा बसेर सुन्न पनि नसकिने हुन्छन् । महिला मात्र सामेल भएर मनाइने तीजका गीत पुरुष सामेल नभई पूरा हुनै छाडेका छन् । माइतीघरमा मनाइने तीज आजकाल विभिन्न पार्टीप्यालेस, संघ–संस्थामा एवम् राजनीति दलका नेताहरुले आर्थिक सहयोग गरेर भड्किलो रुपमा मनाइएको पाइन्छ । अचेल चेलीलाई माइत जानुभन्दा संघ–संस्थाको तीजमै धेरै मन लाग्ने र रमाइलो हुने गरेको पाइन्छ ।समूहमा भेला भएर मनाउन थालिएको यो पर्वमा रमाइलो गर्नेभन्दा पनि गहना कपडा प्रदर्शनी गर्ने होड चलेको छ । जसका कारण विपन्न परिवारका महिलाहरु येस्ता कार्यक्रममा सामेल हुन चाहँदैनन् । यस्तै देखाउने र देखिने संस्कारको विकासका कारण धेरै घरमा यहीँ विषयलाई लिएर मतभेद समेत हुने गरेको पाइन्छ । हुने खानेहरुले देखाउने तडकभडकले गर्दा हुँदा खाने परिवारलाई धेरै गाह्रो हुन थालेको छ । यस्ता गतिविधिका कारणले धेरै मानिसलाई अचेल चाड पर्व हर्ष नभई बोझ बन्न पुगेको छ ।

तीज पर्वमा दाङमा पहिले मादलको तालमा सबै झुमेर नाचेको देखिन्थ्यो। अहिले तीज अगावै धेरै ठाउँमा नाचिरहेको देखिन्छ । तर तेहा मादलको तालमा कुनै कुनै ठाउँ बाहेक अरु ठाउँ नाचेको देखिँदैन। येसरी नै हेर्ने हो भने पहिले जस्तो महोल त्यति देखिँदैन अहिले ।

 आजकल तीज मनाउने नाममा कतिपय विकृतिहरु भित्रिनाले हाम्रो संस्कृति नै लोप हुने त होइन भन्नु पर्ने अवस्था सृजना हुँदैछ। लवाई खवाईमा आएको भड्किलो तीजले धनाढ्य समाजका लागि मात्रै आएको चाड होकि भन्ने जस्तो भान पर्न लागेको छ।  माइती मावली छोरी चेली बीच सद्भाव साट्ने  पर्वको रुपमा रहेको तीज अहिले मोजमस्ती गर्ने माध्यम बनेको छ। सरकारी कार्यालय देखि विद्यालय क्याम्पस हरुमा कामै छाडेर तीज मनाउने जमघट गर्ने प्रचलनले विकृति सास्कृतिको झल्को देखाउँदछ।

महिनौ दिनबाट विवाहका भोज भतेरमा झँै  होटल पार्टि प्यालेस रेष्टुरेण्ट मा खुवाइने मासु र भातले हाम्रो संस्कृति रीतिरिवाज र प्रचलनलाई पछाडि पारेको छ। महङगो भड्किलो फेसन एवं मोटो सुन लगाएर आर्जित सम्पत्तिको आडम्वर र उपभोक्तावादी  सोचले विकृत सास्कृतिको विकास भएको छ भन्न सकिन्छ।

यति भनिरहँदा यो पर्व गलत हो, यो मनाउनै हुँदैन भन्न खोजिएको भने होइन । हाम्रो हरेक चाडपर्वको आ–आफ्नै मौलिकता, आ–आफ्नै विशेषता रहेको छ । कुनै पनि चाड पर्व हाम्रो पहिचान हो । हामीले हाम्रो चाडपर्वलाई पछि सम्म जोगाइ राख्नुपर्छ । यस्ता चाडपर्वलाई जोगाई राख्नु हाम्रो कर्तव्य हो । त्यसैले कुनै पनि चाड–पर्व मनाइरहँदा सांस्कृतिक मूल्य–मान्यताभित्र रहेर मनाउनुपर्छ । तेसैले हाम्रो यस महान चाडलाई मनाइरहँदा सांस्कृतिक मूल्य–मान्यताभित्र रहेर मनाऊ ।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *