रुकुम , अनिल बुढा मगरको कथानक फिल्म ‘घरज्वाइँ’को आकर्षक क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । फिल्मका दुई शीर्ष पात्र दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् ।

पोस्टरमा दयाले बन्दुक बोकेर रिसाहा अवतारमा आफूलाई प्रस्तुत गरेका छन् भने अर्कोमा मिरुना र दया डोको बोकेर हिँडिरहेको देख्न सकिन्छ । मगर मौलिक भेषभूषामा देखिएका दयाहाङले हाब्दुला, चौबन्दी, खादी, पटुका लगाएका छन् भने अल्लोको धागोबाट बुनिएको जाबो भिरेका छन्। केश मुण्डन गरेको हुलियामा देखिएका दयाहाङ उच्च पहाडी भेगको पृष्ठभूमिका बीच कतै शिकारतिर बरालिँदै गरेको त होइन भन्ने आभाष दिलाउँछ। पोस्टर तस्बिरमा उनी हक्की स्वभावमा देखिएका छन्। जसले पुरुषार्थको झल्को दिन्छ। अर्को पोस्टरमा खापा लुङ्गी, युके स्वेटर, बुट्टेदार गादा, कोरियन टिशर्ट लगाएकी मिरुनाले चौखण्डे कुसुमे रुमाल शिरमा बाँधेकी छन्।
पूर्वी रुकुमका विभिन्न स्थानमा छायांकन गरिएको यो फिल्मका निर्माता जनक घर्ती मगर हुन् । फिल्मलाई अनिल बुढाले निर्देशन गरेका हुन् । फिल्मको कथा, पटकथा तथा संवाद लेखनमा अनिललाई विनोद खतिवडा र सुभाष कोइरालाले साथ दिएका छन् ।फिल्ममा सुशन प्रजापतिको छायांकन छ । यो फिल्ममा दया र मिरुनाको साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, खड्गबहादुर पुन, राज थापा, कविता आले लगायतका कलाकारको अभिनय छ ।एम मुभिजको ब्यानरमा निर्माण भएको यो फिल्ममा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत, रामजी लामिछानेको कोरियोग्राफी, कृष्ण भण्डारीको सम्पादन छ ।

