दाङ असार २५/ दाङ- पूर्व-पश्चिम राजमार्गमा तीव्र गति(ओभर स्पीड )मा गुड्ने सवारी साधनलाई ट्राफिक प्रहरीले निगरानी गर्न थालेको छ।

तीव्र गतिका कारण सवारी दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले राजमार्गमा तीव्र गतिमा गुड्ने सवारी साधनलाई ट्राफिक प्रहरीले निगरानी बढाएको हो।

स्पीड जाँच गर्ने लेजर गन मेसिन अर्थात् राडर गन मार्फत सवारी साधनको गति नाप्न थालिएको ट्राफिक पोष्ट लमहीका प्रमुख टेकबहादुर कुसारीले जानकारी दिए।’ राजमार्गमा तीव्र गतिमा गुड्ने सवारी साधनकै कारण दुर्घटना बढीरहेको छ। दुई पांग्रे र चार पांग्रे सवारी साधनको गति बढी हुने भएकाले तिनलाई निगरानी बढाएका छौं’ उनले भने,’निर्धारित गतिभन्दा तीव्र गतिमा सवारी चलाउनेलाई कारबाही समेत गरेका छौं।’

राजमार्गलाई केन्द्रित गरेर नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त सवारी जाँच अभियान पनि चलाएका छन्। ‘तीव्र गतिमा गुड्नु नै जोखिम निम्त्याउनु हो। सवारी साधन जाँच‍संगै सचेत पनि पार्ने गरेका छौं’ वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रकाश भुसालले भने,’मोटरसाइकल, कार, स्कुटर जस्ता सवारी साधनको गति अधिक देखिन्छ। गति नियन्त्रणनै दुर्घटना न्यूनीकरणको एउटा महत्त्वपूर्ण उपाय पनि हो।’

मंगलबार मात्रै पूर्व-पश्चिम राजमार्गको दाङ खण्डको लमही क्षेत्रमा गरिएको सवारी जाँचमा २१ वटा सवारीसाधन कारबाहीमा परेका छन्। राजमार्गमा गुडेका ६० किलोमिटर प्रति घण्टाभन्दा बढी हाँक्ने सवारीलाई कारबाही गरिएको छ।

सवारी साधन ६० किलोमिटर प्रतिघण्टा भन्दा बढीको दरले हुइक्किने गरेका छन्। दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षासहित अहिले पूर्व -पश्चिम राजमार्ग सडक खण्डमा अभियान केन्द्रित छ। ‘हामीले प्रयोगमा ल्याएको राडर गन विशेष किसिमको अत्याधुनिक छ। यसले परैबाट आइरहेका तीव्र गतिका सवारी साधनबारे तत्काल संकेत दिन्छ’

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख राजेश शाहीले भने,’तीन सय मिटरमा आएपछि गति मापन गर्छ। गाडी तीब्र गति छ भने सय मिटरको दूरीमा आएपछि नम्बर सहितको सवारीसाधनको फोटो खिचिन्छ। मेसिनकै सहायताले ओभर स्पीडका त्यस्ता सवारीसाधन रोकेर सम्झाई बुझाई गरी कारबाहीको दायरामा परेका छन्।’

कुन गाडी कति गतिमा गुडेको छ त्यसले गनमा अंक देखाउँछ र तस्बिर पनि खिच्ने भएकोले तत्काल स-प्रमाणसहितको चिट दिई कारबाही गर्न पनि सहज भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

राडार गनले सवारीको गति नापेर हेर्दा तीव्र गतिमा अधिकांश निजी कारहरु, भाडाका सार्वजनिक बस, मोटरसाइकल र स्कुल बस पनि तिब्र गतिमा गुड्ने गरेका छन्। निर्धारित गतिभन्दा वेगमा हुइक्किने सवारी साधनलाई कारबाही समेत गरिएको छ। ट्राफिक प्रहरीले विद्यालय तहमा पनि ट्राफिक सचेतना अभियानसमेत चलाएको छ।

ट्राफिक प्रहरी कार्यालयले सवारी साधनका चालक, पैदल यात्री र आम सर्वसाधारण नागरिकलाई ट्राफिक नियम पालनाको बारेमा जानरी गराउने गरेको छ।’ केही दिन देखि राजमार्गमा सवारी साधन दुर्घटनाको संख्या बढेको देखिन्छ। त्यही भएर हाइवे केन्द्रित सवारी जाँच अभियान पनि केन्द्रित छ’ ट्राफिक कार्यालय दाङका प्रमुख शाहीले भने,’सवारी चालकको लापबारही, तीव्र गति, माससे, लापसे जस्ता कारणले गर्दा दुर्घटना हुने गरेको छ। हामी दुर्घटना न्यूनीकरणका लागी जनचेतनासँगै गल्ती गर्नेलाई कारबाही दुवै रणनीतिका साथ अघि बढेका छौं।’

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *