दाङ : विश्व स्वास्थ्य संगठनको पछिल्लो आँकडा अनुसार एक वर्षमा संसारका लगभग ८ लाख मानिस वा हरेक ४० सेकेण्डमा कसै न कसैले आत्महत्याको कारण ज्यान गुमाइरहेका हुन्छन्। संगठनले ७७ प्रतिशतभन्दा बढी आत्महत्याका घटना नेपाल जस्ता कम तथा मध्यम आय भएका देशहरुमा हुने उल्लेख गरेको छ।
पुरुषभन्दा महिलामा आत्महत्या गर्ने प्रयास बढी भए पनि आत्महत्या गर्ने संख्या भने पुरुषको बढी छ। १५ देखि २४ वर्षका बालबालिका तथा युवायुवती र ७५ वर्षभन्दा माथिकाले आत्महत्या गरेको पाइएको छ।
जीवन एउटा सुन्दर प्राकृतिक अवसर हो । हामी चाहेर जन्मेका हुदैनौं, नचाहेर पनि जन्मदैनौं, चाहदा जन्मदैनौँ । जन्म एउटा सबैभन्दा ठूलो संयोग हो । आविष्कार हो । प्रकृतिको सुन्दर र अनुपम सिर्जना हो । उपहार हो । जन्मपछि जीवन प्रारम्भ हुन्छ । जिन्दगीको यो लामो यात्रामा धेरै दुख तथा संघर्ष गर्नुपर्ने कठिन समयहरु आउछन्। जुन हामी सबैले पार गर्नुपर्ने हुन्छ। यस संसारमा पूर्ण रुपले खुसी हुने बिरलै मानिस होलान्। हामी केही समयको लागि खुसी हुन्छौ र केही समयको लागि दुखी हुने गर्छौ। यो नै जिन्दगीको अर्को परिभाषा हो।
जिन्दगीमा यस्ता कठिन क्षणहरु पनि आउने गर्छन् जसले हामीलाई पूर्ण रुपमा आफूबाट यो जिन्दगीमा केही नहुने भनि आफ्नो कर्मलाई दोष दिँदै एक्लो महसुस गराउछन्।’अब बाँच्नुको कुनै उद्देश्य छैन, मैले जति गर्दा पनि आफ्नो जिन्दगीमा प्रगति गर्न सकिन’ भनि यी सब पिडा, दुख मेटाउने उपाय खोज्दा अन्त्यमा धेरै मानिसहरुले आत्महत्याको बाटो रोज्ने गर्छन्।
के आत्महत्या गरी आफ्ना र आफ्नो परिवारलाई रुवाएर आफूलाई जन्म दिने बुवाआमाको सपना पुरा नगरी मर्नु कति को ठिक र साहसी कदम हो? होइन। तसर्थ तपाईं आफ्ना सपनाहरू पछ्याउनुहोस्। ससाना सुन्दर चीजहरूमा आफ्नो खुशी खोज्नुहोस्। आखिर, जीवन हामीले सोचेको जस्तो क्रूर छैन। यो पनि सुन्दर छ। यसको लागि केवल हामीलाई संसार हेर्ने सुन्दर दृस्टीकोण र निश्चल आँखा चाहिन्छ। हामी कसैलाई पनि थाहा छैन भविष्यले हाम्रो लागि के तय गरेको छ।
हामीलाई थाहा छैन जिन्दगीको आउने अर्को क्षणमा के हुन्छ। हाम्रो हातमा एउटै कुरा हुने भनेको स्वीकृति हो। त्यसैले हरेक चीजहरू आउँदा स्वीकार गर्न सिक्नुहोस् र समस्याहरू समाधान गर्न सिक्नुहोस्। तिनीहरूबाट भाग्ने होइन। यो जीवन एक वरदान हो। यो भगवानको एक अमूल्य उपहार हो। यस्तो आशीर्वाद समाप्त गर्ने नकारात्मक विचार तपाईमा आउन नदिनुहोस् र आए पनि आफ्नो मानसपटलमा रहिरहन नदिनुहोस्। आफ्नो अनुहारमा मुस्कान राख्नुहोस् र यो जीवन उत्साह र उमंगले जिउनुहोस्। किनकि यी जिन्दगीका पल फेरि फर्किएर, आफुले चाहेर पनि जिउन पाइदैन।
असफलता एक विकल्प र सफलता को अवसर हो। हामी मानिस भएकाले रुनु पनि एउटा विकल्प हो। हामी हाम्रो पीडालाई मेटाउन रुन र केहट्ठ समय निराश हुन सक्छौं। आत्महत्या आफैंमा पाप र मूर्खता हो। जसरी हामीलाई यस संसारमा आफूले चाहेको समय जन्म लिने अधिकार छैन, त्यसैगरी हामीलाई यस संसारबाट टाढा जाने अधिकार पनि छैन।
बस सकारात्मकताका साथ आफ्नो जीवन जिउनुहोस् र संघर्ष गर्नुहोस्। तपाईंको जीवनमा रहेका समस्याहरू साहसका साथ लड्नुहोस र साहसी हुनुहोस् किनभने तपाईं भगवानले बनाएको सबैभन्दा राम्रो चीज हुनुहुन्छ र उहाँले केही उद्देश्यले नै तपाईलाई यस धर्तिमा पठाउनु भएको छ। उहाँको उद्देश्य बन्नुहोस् र यो आशीर्वादका साथ बाँच्नुहोस्।
#Abhisek Bohara

